साउदी अरबको तेल प्रशोधन केन्द्रमा आक्रमणपछि विश्वभरि इन्धनको मूल्य बढ्न सक्ने चिन्ता

साउदी अरब सरकारले आफ्नो स्वामित्वका दुईवटा प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भयपछि तेल र ग्यास उत्पादनमा कटौती गरेको छ।

उक्त आक्रमणका कारण कच्चा तेल उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेल कमी आएको छ।

सो परिमाण साउदी अरेवियाले कुल उत्पादन गर्ने परिमाणको झन्डै आधा हो।

सो घटनाको जिम्मेबारी लिदै यमनस्थित हूथी विद्रोहीका एक प्रवक्ताले आक्रमणका लागि आफूहरूले १० वटा ड्रोन परिचालन गरेको बताएका छन्।

यता अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भने इरानमाथि आक्रमणको आरोप लगाउँदै ती ड्रोन यमनबाट आएको भन्ने कुराको कुनै प्रमाण नभएको बताएका छन्।

पश्चिमा मुलुकहरूको समर्थन रहेको यमन सरकारलाई सघाउने गठबन्धनको नेतृत्व साउदी अरबले गर्छ भने इरानले हूथी विद्रोहीलाई समर्थन गर्दै आएको छ।

विश्व बजारमा मूल्य बढ्न सक्छ


अरामको विश्वको सबैभन्दा ठूलो तेल उत्पादक मात्रै नभई विश्वमै सबैभन्दा बढी नाफा कमाउने कम्पनी हो।

खुरैस प्रशोधन केन्द्रले विश्वमा गरिने खपतको झन्डै एक प्रतिशत तेल उत्पादन गर्छ भने अब्काइक अरामकोको सबैभन्दा ठूलो प्रशोधन केन्द्र हो।

विश्व बजारको मागको सात प्रतिशत आपूर्ति गर्ने त्यसको क्षमता छ।

उसको आकारको कारणले गर्दा आंशिक अवरोधले पनि उक्त कम्पनी र आपूर्तिलाई प्रभावित पार्न सक्छ।

शनिवार गरिएका आक्रमणका कारण साउदी अरबको तेल उत्पादनका आधाले कमी आएको हुन सक्ने विश्लेषकहरूले बताएका छन्।

साउदी अरेबिया एक्लैले विश्व बजारको १० प्रतिशत कच्चा तेल उत्पादन गर्छ। उत्पादनमा आधाले आएको कमीको अर्थ सोमवार बजार खुल्नासाथ तेलको मूल्यमा उल्लेखनीय असर पर्नेछ।

Related Articles

Back to top button